सुनसरी, बराहक्षेत्र – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीबाट २ सय किलोग्राम लागू औषध गाँजा बरामद गरिएको छ।
बिहीबार जेठ १६ गते बिहान २:३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सप्तकोशी नदी क्षेत्रको निगरानी गर्ने क्रममा नदीमा बगिरहेको अवस्थामा दुईवटा ट्यूब फेला पारेको थियो।
प्रहरी टोलीले ती ट्यूबहरूलाई कोशी पुलदेखि करिब १.५ किलोमिटर दक्षिणतर्फ कोशी नदीको किनारमा ल्याई जाँच गर्दा, ८ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २०० केजी गाँजा जस्तो देखिने पदार्थ फेला परेको जनाएको छ।
घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्र.नि. दिवस कुँवरले भने, “नदीको बाटो प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गिरोह सक्रिय रहेको देखिएको छ। हाम्रो टोलीले समयमै कारबाही गरेर ठूलो परिमाणमा गाँजा नियन्त्रणमा लिन सफल भएको छ।”
बरामद गरिएका गाँजासहित ट्यूबहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले थपे, “सीमा नजिकका क्षेत्रहरूमा निगरानी थप कडा पारिएको छ र गिरोह पहिचान गर्न अनुसन्धान तीव्र पारिएको छ।”




