सरकारी छाप र दस्तखत किर्तेसम्बन्धी मुद्दामा १६ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सुनसरी, बराहक्षेत्र नगरपालिका–१, भलायोटार टोल निवासी ३६ वर्षीय रोशन राई हुन्।
ईलाका प्रहरी कार्यालय चतराबाट प्र.ना.नि. राजन खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा राईलाई निजकै घरबाट पक्राउ गरेको प्रहरी निरीक्षक दिवस कुवरले बताए।
राईविरुद्ध सम्मानित सुनसरी जिल्ला अदालतले २०६६ साल फागुन १३ गते एक वर्ष कैद र रु. २२५ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका राईलाई नियन्त्रणमा लिएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टीमा राखिएको थियो।
पक्राउ परेका राईलाई अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि झुम्का कारागार पठाइएको इलाका प्रहरी महेन्द्रनगरले जनाएको छ।




