बराहक्षेत्र, सुनसरी – असार ७
बराहक्षेत्र नगरपालिका वडा नं. ३ स्थित बिचपानी खेलमैदानमा सम्पन्न उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं. ३ ले जितेको छ।
आज शनिवार सम्पन्न फाइनल खेलमा वडा नं. ३ ले वडा नं. ७ लाई ३–१ को सेट अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।
विजेता बनेको वडा नं. ३ ले नगद रु ७१,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा नं. ७ ले नगद रु ४५,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
३ दिनसम्म चलेको प्रतियोगिता बराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा भएको हो। प्रतियोगितामा वडा नं. १, २, ३, ५, ७, ८ र ९ गरी सात वडाले सहभागिता जनाएका थिए।
विधागत उत्कृष्ट खेलाडीहरू सम्मानित
समापन समारोहमा व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
फाइनल खेलको म्यान अफ द म्याच वडा नं. ७ का अनिस बिष्ट घोषित भए।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट सेटर वडा नं. ३ का बिष्णु थापा, उत्कृष्ट स्ट्राइकर वडा नं. ७ का मनोज बस्नेत र सर्वोत्कृष्ट खेलाडी वडा नं. ३ का राजु बस्नेत घोषित भए।
सर्वोत्कृष्ट खेलाडीले रु ३,१०० सहित ट्रफी प्राप्त गरे भने अन्य उत्कृष्ट खेलाडीहरूले जनही रु २,१०० नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको समापन कार्यक्रम नगर उपप्रमुख नन्दकुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा तथा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
खेल संयोजक कपिल आचार्यका अनुसार, प्रतियोगिता युवा ऊर्जा परिचालन, खेलकुदको प्रवर्द्धन तथा वडा–वडाबीचको आपसी एकता सुदृढ गर्न आयोजित गरिएको हो।




