निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय कार्यसमितिको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा ‘शैक्षिक भ्रमण तथा नेतृत्व विकास सम्बन्धी सेमिनार’ सुरु भएको छ।
कार्यक्रमको उद्घाटन डेनमार्कस्थित नेपाली राजदूत सुम्निमा तुलाधरले गरेकी हुन्। उनले यस्ता अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रमले नेपालको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको ५४ सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाइरहेको उक्त भ्रमण ग्लोबल हेल्प फाउन्डेसनको सहकार्यमा सञ्चालन भइरहेको हो। सहभागी टोली स्विडेन र फिनल्यान्ड पनि भ्रमण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्।
यस महत्वपूर्ण सेमिनारमा सुनसरी जिल्लाबाट प्याब्सन अध्यक्ष थानेश्वर ढकाल, सुबास तामाङ, दिनेश बुढाथोकी, निश्चलराज शाक्य र रिता भुसाल सहभागी भएका छन्।
प्याब्सनका निवर्तमान अध्यक्ष डी.के. ढुंगानाले फिनल्यान्डमा विद्यालय शिक्षासम्बन्धी विशेष सेमिनार आयोजना हुने जानकारी दिएका छन्। टोली आगामी जुलाई ३१ मा नेपाल फर्किनेछ।




