विशेष सूचनाको आधारमा सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका–५, बिशालचोक नजिकबाट ठूलो परिमाणको लागुऔषध गाँजा सहित एक कार नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गएराति करिब १:४० बजे धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको कार (नं. BR 11 BR 7102) र पल्सर मोटरसाइकललाई रोक्न खोज्दा दुबै सवारी साधन धरानतर्फ भागेका थिए ।
प्रहरी टोलीले पछ्याइपछि कार रोकी चालक भने मोटरसाइकलमै सवार भई फरार भएका थिए । त्यसपछि कारलाई चेकजाँच गर्दा भित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा ११ वटा प्लास्टिकका पोका भित्र करिब ३४० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद भएको गाँजा सहितको कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ भने घटनामा संलग्न मोटरसाइकल, चालक तथा अन्य फरार व्यक्तिहरुको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस कुवरले भने, “लागूऔषध नियन्त्रण हाम्रो प्राथमिकतामा पर्छ । यस अभियानलाई अझ कडाइका साथ अघि बढाइनेछ । फरार रहेका व्यक्तिहरुको खोजी कार्य तीव्र भइरहेको कुवरले बताए ।




