वराहक्षेत्र नगरपालिका वडा नं. ६ अन्तर्गत पर्ने कोशी किनार बोराबाधँ क्षेत्रलाई थप आकर्षक र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाको टोलीले शुक्रबार अनुगमन गरेको हो।
आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको कोशी किनारस्थित बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायहरूको नगरपालिकाले अनुगमन गरेको छ।
अनुगमनका क्रममा बोराबाधँ क्षेत्रमा कोशी नदीमा सञ्चालित पानी बोटहरूको नगरपालिका दर्ता प्रक्रिया, भाडादर, लाइफ ज्याकेटको व्यवस्था, बीमा तथा सुरक्षा मापदण्ड, पर्यटकमैत्री व्यवहार, होटल व्यवसाय दर्ता, खाद्य पदार्थको मूल्य र मूल्यमा एकरूपता लगायतका विषयमा व्यवसायी तथा बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए।
साथै, व्यवसायीहरूलाई पर्यटकमैत्री सेवा प्रदान गर्न निर्देशन समेत दिइएको उनले बताए।
आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बन्दै गएको बोराबाधँ क्षेत्रलाई थप व्यवस्थित गर्दै दीर्घकालीन पर्यटकीय विकास गर्ने नगर कार्यपालिकाको निर्णयअनुसार व्यवसायलाई कानुनी दायरामा ल्याउन, व्यवस्थापन गर्न तथा पर्यटक आकर्षण बढाउने उद्देश्यले अनुगमन गरिएको अनुगमन समितिकी संयोजक तथा नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन्।
नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा आर्थिक विकास शाखा प्रमुख मातृका तिवारी, राजस्व शाखा प्रमुख संगिता चौधरी, पशु विकास शाखा प्रमुख विमल अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा, सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइराला, उद्योग वाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष तुलसी श्रेष्ठ, बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।




