सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. २ चतरा स्थित सुनसरी जिल्लाकै प्रतिष्ठित सहकारी संस्थाका रूपमा परिचित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित भएकी छिन् ।
मङ्गलबार सम्पन्न संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औँ वार्षिकोत्सवको अवसरमा निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईले आगामी चार वर्षका लागि भण्डारी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएको जानकारी दिए ।
नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा मीनबहादुर बानियाँ, सचिवमा ज्ञानेन्द्र (आदेश) गौतम, कोषाध्यक्षमा राधिका कार्की तथा सदस्यहरूमा मदन (राजन) बस्नेत, प्रभा कुमारी घिमिरे, सुनिता निरौला, शुशिला शर्मा ठाकुर, शुशिला कुमारी प्रधान, निता खतिवडा दाहाल र भगवती कार्की चयन भएका छन् ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा ज्ञानबहादुर पाण्डे तथा सदस्यहरूमा शुष्मा हमाल र सम्झाश्वरी राई चयन भएका छन् । निर्वाचन संयोजक भट्टराईले सोही दिन सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण गराएका थिए ।
वराहक्षेत्र–१ स्थित औलिया मठको बोलबम धर्मशालामा आयोजित कार्यक्रममा अध्यक्ष सीता भण्डारी पौडेलले सहकारीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गरेकी थिइन् । लेखा सुपरिवेक्षण समिति संयोजक नरकुमार राईले सुझावसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थामा हाल ६ हजार २ सय ८२ जना शेयर सदस्य रहेका छन् । गत वर्षको तुलनामा शेयर पुँजी ३.६० प्रतिशतले वृद्धि भई ८ करोड ९६ लाख ४७ हजार ३ सय रुपैयाँ पुगेको छ । बचत निक्षेप ४.०६ प्रतिशतले वृद्धि भई ६० करोड ३३ लाख ६२ हजार ६ सय २९ रुपैयाँ ८४ पैसा पुगेको छ । चालु आर्थिक वर्षमा कुल ८८ करोड ४५ लाख ३ सय ५६ रुपैयाँ बचत संकलन तथा ८३ करोड ५२ लाख ८३ हजार २ सय २७ रुपैयाँ १ पैसा भुक्तानी भएको छ ।
वार्षिक प्रतिवेदन अनुसार संस्थाले ३७ करोड २५ लाख ६ हजार ७ सय २८ रुपैयाँ कर्जा लगानी गरेको छ भने ४० करोड ७९ लाख २ हजार ४ सय ४४ रुपैयाँ कर्जा असुली गरेको छ ।
चालु आर्थिक वर्षमा संस्थाले २० करोड ८८ लाख ६१ हजार ३ सय २ रुपैयाँ २७ पैसा आम्दानी गरेकोमा १८ करोड ७५ लाख ८७ हजार ४ सय ६५ रुपैयाँ २४ पैसा खर्च भई २ करोड १२ लाख ७३ हजार ८ सय ३७ रुपैयाँ ३ पैसा नाफा भएको छ । आयकर ऐनअनुसार १० प्रतिशत आयकर व्यवस्था गरी १ करोड ९१ लाख ४६ हजार ४ सय ५३ रुपैयाँ ३३ पैसा बचत गर्न सफल भएको संस्थाले जनाएको छ ।
कार्यक्रममा अध्यक्ष भण्डारीले सहकारीबाट प्राप्त भत्ता स्वर्गीय पति दलबहादुर पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरी सो कोषको ब्याजबाट एकल महिला शेयर सदस्यका छोराछोरीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिइन् । साथै अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन न्यून ब्याजदरमा कर्जा लगानी तथा बचतमा उच्च ब्याजदर दिने योजना रहेको बताइन् ।
सहकारीका व्यवस्थापक बाबुराम खत्रीका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत वराहक्षेत्र नगरपालिकाका वडाको २,३,४,५,७र १० वडाको ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जाडोका लागि ट्र्याकसुट, ब्याग स्कुलमा सिलिङ लगाउने तथा खानेपानी सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । अध्यक्ष सीता भण्डारी पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य व्यवस्थापक बाबुराम खत्री र सञ्चालक उपाध्यक्ष दीपक कार्कीले गरेका थिए ।
कार्यक्रममा पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरूलाई सम्मान गर्नुका साथै नियमित दूध उत्पादन गर्ने शेयर सदस्य, पत्रकार, उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, कारोबारी तथा असल ऋणीलाई कदरपत्र प्रदान गरिएको थियो ।




