इटहरी, पुस २९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको दोस्रो जिल्ला परिषद भेला इटहरीमा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले नेपाली विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न तल्लो कक्षादेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा मंगलबार आयोजित परिषद भेलामा वक्ताहरूले कक्षा १२ पछि पनि नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरीले विद्यार्थीलाई देशमै रोक्ने वातावरण निर्माण आजको आवश्यकता भएको बताए ।
“कक्षा १२ पछि पनि नेपाली विद्यार्थीलाई स्वदेशमै रोक्ने वातावरण बनाऔं,” उनले भने, “एकातिर जन्मदर घट्दै गएकाले निजी विद्यालय टिकाउन गाह्रो बन्दै गएको छ भने अर्कातिर इमान्दार व्यवसायीलाई माफियाको ट्याग लगाइँदैछ ।”
पूर्व अध्यक्ष पुरीले अहिलेको विद्यार्थीलाई भ्रष्टाचारी बनाउने कि सदाचारी बनाउने जिम्मेवारी शिक्षककै हातमा रहेको उल्लेख गर्दै विवेकपूर्ण शिक्षण आवश्यक रहेको बताए ।
“अहिलेको विद्यार्थीलाई कुनै पनि राजनीतिक दलको झोले बनाउने कि असल नागरिक बनाउने भन्ने कुरा शिक्षकको हातमा छ,” उनले भने, “विद्यार्थीलाई सही गन्तव्यमा पु¥याउने दायित्व शिक्षककै हो ।”
उनले सक्षम र असल शासकको नेतृत्व भए १०–१५ वर्षमै देशमा ठूलो परिवर्तन सम्भव हुने र त्यसले शिक्षा क्षेत्रको विकासलाई पनि गति दिने विश्वास व्यक्त गरे । “अबको शिक्षा निर्वाचित संसद र सरकारमा निर्भर छ,” उनले भने, “राजनीतिक अस्थिरताले निजी शिक्षा क्षेत्रसमेत प्रभावित बनेको छ ।”
कार्यक्रममा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले वास्तविक समस्या नबुझी सरकार फेरिँदै जाँदा निजी विद्यालयलाई निसाना बनाइने प्रवृत्ति बढेको बताए ।
त्यस्तै, प्याब्सन सुनसरी जिल्ला अध्यक्ष थानेश्वर (नेशनल) ढकालले नीति निर्माण तहमा शिक्षा क्षेत्र बुझ्ने व्यक्तिको अभावका कारण समस्या देखिएको बताए । उनले निजी विद्यालय पनि पुरानै शैलीमा सञ्चालन गरेर गुणस्तरीय शिक्षा दिन नसकिने स्पष्ट पारे ।
सो अवसरमा प्याब्सन सुनसरी जिल्ला कार्यसमितिले शैक्षिक सत्र २०८१ को एसईई परीक्षामा ४ जिपिए प्राप्त गर्ने तीन जना विद्यार्थीलाई जनही नगद १० हजार १ रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरेको छ । सम्मानित हुनेमा मकालु इङ्लिस बोर्डिङ स्कुल, इटहरी–५ की मिशु प्रधान, नवयुग एकेडेमी, इनरुवाका सुदिस सुवेदी र प्रगान पोखरेल रहेका छन् ।
प्याब्सन सुनसरी जिल्ला अध्यक्ष थानेश्वर (नेशनल) ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन दिपक कार्कीले गरेका थिए ।




