वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वराहक्षेत्रमा टि -20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त दोस्रो संस्करणको वराहक्षेत्र टि क्रिकेट प्रतियोगिता भोलि बुधवारबाट सुरु हुनेछ ।
वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित खेलमैदानमा पौष ३० गतेदेखि माघ ५ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए ।
प्रतियोगिताको बारे मङलवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपि पौडेलको समेत सहभागिता रहेको थियो ।
साढे ६ लाख अनुमानित गरिएको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५१ हजार सहित ट्रफि र प्रमाण पत्र र दोस्रो पुरस्कार नगद ३१ हजार सहित ट्रफि र प्रमाण पत्र रहेको छ । खेलमा दैनिक म्यान अफ द म्याच र बिधागत उत्कृष्ट तथा सर्बउत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफि प्राप्त गर्नेछन् । खेल आइसिसिको नियम अनुसार हुनेछ ।
प्रतियोगितामा आयोजक बराहक्षेत्र क्रिकेट क्लब सहित सुन्दर हरैचा मोरङ्ग , मिल्स क्रिकेट बिराटनगर , ए।एस। स्पोट विराटनगर , इटहरी आदर्श जाईन्ट्स , फुलबारी क्रिकेट क्लब इनरुवा ,तरहरा क्रिकेट इटहरी र युनाईटेड धरानले सहभागिता जनाउने आयोजक क्लबका सचिव धनाहाङ्ग सब्बाले बताए ।
वराहक्षेत्र नगपालिकामा पहिलो पटक गत वर्षबाट सुरु भएको प्रतियोगिताको नारा नेपालीको शान , खेलाडी उत्पादन गर्ने हाम्रो अभियान रहेको छ ।



