बराहक्षेत्र/नडाहा
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेश कार्यसमितिद्वारा आयोजित चौथो प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल प्रतियोगिता–२०८२ इटहरीमा सफलतापूर्वक सञ्चालन भइरहेको छ।
इटहरी–२०, सुनसरीस्थित हिमशिखर इङ्लिस स्कुलको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापाको सभापतित्वमा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय समिति उपाध्यक्ष टिकाराम ढकाल प्रमुख अतिथि रहेका थिए भने प्रदेश प्याब्सन सल्लाहकार राजेश आचार्य, केन्द्रीय सदस्य दिनेश भट्टराई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

छात्र तथा छात्रा दुवै तर्फ सञ्चालन गरिएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट जम्मा १३ वटा विद्यालय टोली सहभागी रहेका थिए।
पुरुष तर्फ हिमशिखर इङ्लिस स्कुल इटहरी, पशुपति इङ्लिस स्कुल उरालाबारी, महेन्द्र मेमोरियल स्कुल दुहबी, निधि इङ्लिस स्कुल बिर्तामोड, मनकामना इङ्लिस स्कुल धनकुटा, इन्स्पायर इङ्लिस स्कुल दमक र राष्ट्रनिर्माण इङ्लिस स्कुल मोरङ सहभागी थिए।
महिला तर्फ सुनसरी क्रिस्टल स्कुल, रेड स्टार स्कुल पथरी, ब्राइट फ्युचर स्कुल मोरङ, डिपो स्कुल धरान, ग्लोबल एजुकेशन एकेडेमी कन्काई तथा निधि इङ्लिस स्कुल बिर्तामोडका टोलीहरू प्रतिस्पर्धामा उत्रिएका थिए।
प्रतियोगिताअन्तर्गत पुरुष तर्फको खेल सम्पन्न भइसकेको छ। जसमा निधि इङ्लिस स्कुल बिर्तामोड (झापा) प्रथम, पशुपति इङ्लिस स्कुल उरालाबारी (मोरङ) दोस्रो तथा इन्स्पायर इङ्लिस स्कुल दमक (झापा) तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
महिला तर्फ तेस्रो स्थान निधि इङ्लिस स्कुल बिर्तामोड (झापा) ले प्राप्त गरेको छ भने महिला तर्फको फाइनल खेल भोलि शनिबार बिहान ७:३० बजेबाट सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले २१ हजार, दोस्रोले १५ हजार र तेस्रोले ११ हजार रुपैयाँ नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। विजेता टोलीलाई नगदसहित रनिङ शिल समेत प्रदान गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्य राखेको छ। खेल अवधिभर अभिभावक, शिक्षक तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समयको अभावका कारण महिला तर्फको फाइनल खेल भोलिका लागि सारिएको आयोजकले जनाएको छ।




