जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न
सुनसरी । बराहक्षेत्र नगरपालिका–३ बिचपानीस्थित जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने नगर उपप्रमुख नन्दकुमारी सुनुवार र बराहक्षेत्र–३ का वडा अध्यक्ष राजदीप लामा विशेष अतिथिका रूपमा सहभागी थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदारबहादुर तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
वार्षिक उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य तथा प्रस्तुति प्रस्तुत गरी दर्शकको मन जितेका थिए। साथै, खेल सप्ताह अन्तर्गत आयोजित विभिन्न प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक अनुशा बानका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुनुका साथै शैक्षिक र अतिरिक्त क्रियाकलापमा थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरिएको बताइन् ।



