बराहक्षेत्र–७, चक्रघट्टिमा रहेको सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा कोशी प्रदेशकै अग्रणी बन्न सफल भएको छ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा हालै सार्वजनिक स्नातक तह चौथो वर्षको नतिजामा उक्त क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थी नारायण राउतले ८६.६% अंक हासिल गर्दै प्रदेश प्रथम बन्ने गौरव हासिल गरेका छन्।
क्याम्पस प्रमुख सुशील कोईरालाका अनुसार सुविधा सम्पन्न सहरी क्याम्पसलाई समेत उछिन्दै सप्तकोशी बहुमुखी क्याम्पसले यस पटक ऐतिहासिक उपलब्धि हात पारेको हो।
वि.सं. २०६७ मा स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको यस क्याम्पसले स्थापना कालदेखि नै उत्कृष्ट शैक्षिक नतिजा दिँदै आएको छ। यस वर्ष शिक्षाशास्त्र संकाय चौथो वर्षमा सहभागी ६६ विद्यार्थीमध्ये ४७ जना अर्थात् ७१% उत्तीर्ण भएका छन्। सोही तहको व्यवस्थापन संकायमा ६६ मध्ये २८ जना अर्थात् ४२.४२% विद्यार्थी सफल भएका छन्।
क्याम्पस प्रशासनले शिक्षण–अध्ययनमा निरन्तर सुधार र विद्यार्थीहरूको लगनशीलताका कारण यस्ता नतिजा सम्भव भएको जनाएको छ।




