वराहक्षेत्र । नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र उपशाखाले वार्षिक कार्यक्रमअन्तर्गत बराहक्षेत्र–२ चतरामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। चतरा अस्पताल परिसरमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।
“रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै रेडक्रस सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा चतरा अस्पताल र उद्योग वाणिज्य संघ चतराको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको उपशाखा सभापति हरिकृष्ण भट्टराईले जानकारी दिए।
कार्यक्रम सभापति हरिकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ममता तामाङ, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, चतरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन अधिकारी, उद्योग वाणिज्य संघ चतराका अध्यक्ष कृष्ण प्रसाद कटेल लगायत राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




