जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिका–०३ नडाहा स्थित कालिन्द्र सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट दुई जना स्थानीय महिला घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार मिति २०८२ साल ०९ महिना २५ गते अन्दाजी १२:२० बजेको समयमा बराहक्षेत्र नगरपालिका–०३ निवासी ७२ वर्षीया मैया बि.क. घाँस काट्न जंगल गएका बेला अचानक एक जंगली हात्तीले आक्रमण गरेको हो। आक्रमणबाट उनको दाहिने खुट्टा भाँचिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुवरले बताए ।
यसैगरी सोही वडाकी ३४ वर्षीया पुजन बि.क. नडाहा–धरान सडक खण्ड नजिक कालिन्द्र सामुदायिक वनबाट घाँस काटी घर फर्कने क्रममा सोही हात्तीको आक्रमणमा परेकी हुन्। आक्रमणबाट उनको निधार तथा दुबै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दिवश कुँवरको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले दुबै घाइतेलाई उद्धार गरी प्रहरीको गाडीमार्फत उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरानतर्फ पठाएको छ। हाल दुबै घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
आक्रमण गर्ने जंगली हात्ती हाल सोही जंगल क्षेत्रमा नै रहेको र नियन्त्रणका लागि सब डिभिजन वन कार्यालय नडाहा तथा अस्थायी प्रहरी चौकी नडाहाबाट प्रहरी सहायक निरीक्षक धन बहादुर भुजेलको कमाण्डमा ४ जनाको टोली स्थानीयवासीको सहयोगमा हात्ती घपाउने कार्यमा सक्रिय रहेको कुवरले जानकारी दिएको छ।




