बराहक्षेत्र / जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२०८२ साल ०९ महिनाको ०७ गते राति करिब २१:३५ बजे बराहक्षेत्र नगरपालिका–११ बुधबारेस्थित प्रहरी चौकी मधुबन क्षेत्रबाट प्रहरी नायब निरीक्षक दिलबहादुर लिम्बुको कमाण्डमा खटिएको गस्ती टोलीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको एउटा साइकललाई शंकाको आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा साइकलमा सवार बराहक्षेत्र नगरपालिका–८ का १९ वर्षीय अभिषेक आछामी र सोही स्थानका १९ वर्षीय रबिन सार्कीको साथबाट प्रतिबन्धित लागू औषध TRAMADOL HYDROCHLORIDE Capsules I.P. ६० पत्ता बराबर ६०० पिस क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै उनीहरूको साथबाट नियन्त्रित औषध SPASPAIN २५ पत्ता बराबर २५० पिस ट्याब्लेट र Kaf-D Tab २ पत्ता बराबर २० पिस ट्याब्लेट समेत फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुवरले जानकारी दिएका छन।
बरामद लागू औषध तथा औषधीसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




