सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका ८० जना विद्यार्थीहरूलाई १२ गाउँले परिवारले बुधबार ९ गते न्यानो कपडा (ट्र्याकसुट) वितरण गरेको छ।
कार्यक्रम संयोजक नवीन पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १२ गाउँले परिवारका अध्यक्ष मनिष गौतम, वरिष्ठ सल्लाहकार अमित गौतम, विद्यालयका प्रधानाध्यापक विदुर भट्टराई,साथै १२ गाउँले परिवारका पदाधिकारी, सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा उक्त न्यानो कपडा वितरण गरेको अध्यक्ष मनिष गौतमले बताए ।
कार्यक्रममा बोल्दै १२ गाउँले परिवारका अध्यक्ष मनिष गौतमले देउसी–भैलो खेली संकलन गरिएको रकम तथा विदेशमा रहनु भएका नेपालीहरुको सहयोगी मनहरूबाट प्राप्त आर्थिक सहयोगका कारण यस्तो सामाजिक कार्य सम्भव भएको बताउनुभयो।
उहाँले संस्थाले यसअघि पनि रक्तदान कार्यक्रम, आँखा शिविर लगायतका विभिन्न सामाजिक कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेको उल्लेख गर्नुभयो।
त्यसैगरी कार्यक्रम संयोजक नवीन पाण्डेले सामुदायिक विद्यालयमा अध्ययनरत कलिला विद्यार्थीहरूलाई पौष महिनाको कठ्याङ्ग्रिदो जाडोमा न्यानो प्रदान गर्नुका साथै उनीहरूका परिवारलाई समेत केही राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।




