जिल्ला सहकारी संघ लिमिटेड, सुनसरीले ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्री सम्मानित भएका छन ।
जिल्लाको सहकारी अभियानमा उल्लेख्य योगदान पुर्याएको भन्दै संघले खत्रीलाई ‘प्रशंसा-पत्र’द्वारा सम्मान गरेको हो।
इनरुवामा आयोजित एक विशेष समारोहका बीच प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय
ईस्माइल मन्सूरीले खत्रीलाई उक्त प्रशंसा-पत्र हस्तान्तरण गर्नुभयो।
सम्मानित हुनुभएका खत्रीले चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आफ्नो ज्ञान, सीप र दक्षताका माध्यमबाट संस्थाको उन्नति र प्रगतिमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ। “सहकारीको संस्थागत विकास र दिगोपनका लागि उहाँले पुर्याउनुभएको निष्ठापूर्वकको सेवाको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको हो,” संघद्वारा जारी प्रशंसा-पत्रमा उल्लेख गरिएको छ।
सो अवसरमा मन्त्री मन्सूरीले सहकारी क्षेत्रको विकासले नै ग्रामीण अर्थतन्त्र बलियो हुने बताउनुभयो। उहाँले खत्रीजस्ता लगनशील व्यवस्थापकहरूको सक्रियताले नै सहकारी अभियानले सही दिशा लिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दिनेश श्रेष्ठले सहकारीहरूले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संघकी सचिव उर्मिला कटुवाल, उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्र मेहता लगायत जिल्लाभरका सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो।
सम्मानित भएपछि खत्रीले यो सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको र आगामी दिनमा सहकारीको सेवालाई अझ परिष्कृत लैजाने प्रतिबद्धता जनाउनुभयो।




